काठमाडौं । कार्तिक त्रयोदशीका दिन धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस मनाइने भएको छ। यसै अवसरमा ‘आरोग्यताको आधार - योग, ध्यान र आयुर्वेद उपचार’ भन्ने नारासहित विविध कार्यक्रम आयोजना गरिने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ।
बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै विभागका अधिकारीहरूले आयुर्वेद चिकित्सा पद्धतिलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंगका रूपमा अघि बढाइरहेको बताए। उनीहरूले प्राकृतिक चिकित्सा, योग र ध्यानजस्ता परम्परागत विधिले रोगभन्दा आरोग्यतर्फ ध्यान केन्द्रित गर्न सहयोग पुर्याउने बताएका छन्।
विभागका महानिर्देशक डा. श्याम बाबु यादवले नेपालमा आयुर्वेद, होमियोपैथिक, यूनानी र प्राकृतिक चिकित्सा प्रणालीहरू लाई नेपाल सरकारले मान्यता दिएको बताए । परम्परागत औषधीय ज्ञान र जडिबुटीको प्रयोगलाई प्रवर्द्धन गर्दै आरोग्य सेवा सबैसम्म पुर्याउने प्रयास भइरहेका समेत जानकारि दिए । आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणालीको महत्वबारे जनचेतना फैलाउनु यस दिवसको उद्देश्य रहेको उनले बताए ।
हाल देशभर ७७ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, प्रदेशस्तरका आयुर्वेद अस्पतालहरू र ३०० भन्दा बढी स्थानीय आयुर्वेद औषधालयहरू क्रियाशील छन् । विशेषज्ञ जनशक्ति र अनुसन्धानमा सुधार आवश्यक रहेको बताइए पनि आयुर्वेदलाई स्वास्थ्य र जीवनशैलीसँग जोड्ने चासो पछिल्ला वर्षहरूमा तीव्र बनेको छ ।