सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी मोबाइल अस्पताल सञ्चालनको अन्तिम चरणमा पुगेको बताए ।
मनमोहन प्राविधिक विश्वविद्यालयको पाँचौँ सभालाई सम्बोधन गर्दै यसका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग समझदारी भएको उनले जानकारी दिए । ‘घुम्ती गाडीमा चिकित्सा उपकरण र जनशक्तिसहित प्रदेशका विभिन्न जिल्लामा गएर नागरिकको स्वास्थ्य परीक्षण हुनेछ । रेफर गर्नुपर्ने भए अस्पताल पठाइने छ ।’ उनले चिकित्सा उपकरण सहितको सवारी साधन खरिद अन्तिम चरणमा पुगेको जानकारी दिए ।
मुख्यमन्त्री कार्कीले पहिले परीक्षण स्वरूप तराईका जिल्लामा सञ्चालन गर्ने र आवश्यकता अनुसार पहाडी क्षेत्रमा समेत सेवा दिने सरकारको तयारी रहेको सुनाए । उनले धनकुटा अस्पताल सय बेडको बनाएर त्यहाँ बीपी प्रतिष्ठानका चिकित्सकलाई साप्ताहिक र आवासीय रुपमा राखेर स्वास्थ्य सेवा दिने विषयमा समेत समझदारी भएको बताए ।
मनमोहन विश्वविद्यालयले अनुसन्धानमूलक कार्यमा बढी ध्यान दिनुपर्ने सुझाव दिँदै आउने वर्षबाट सोझै बजेट पठाउने प्रबन्ध गरिने समेत उनले बताए ।