काठमाडौँ । बारा र पर्सामा हालसम्म कुल जनसङ्ख्याको ७१ प्रतिशतले हैजाविरुद्धको खोप लिइसकेका छन्। स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३ हजार ८३६ जनाले खोप लिएका हुन्।
पर्सामा छ लाख ५२ हजार १२९ मध्ये चार लाख ५६ हजार ७७८ जनाले र बारामा तीन लाख ६५ हजार ९३१ मध्ये दुई लाख ६७ हजार ५८ जनाले खोप लिएका छन्। असोज २६ देखि पर्सा र २७ देखि बारामा सुरु गरिएको यो अभियान सबै स्थानीय तहमा उत्साहका साथ जारी छ।
डा. गौतमका अनुसार अभियानलाई भोलिसम्म निरन्तरता दिइने र बाँकी जनसंख्याका लागि तिहारपछि पुनः सञ्चालन गर्ने योजना रहेको छ।