स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा सुविधा सम्पन्न अस्पताल भवन निर्माण सम्पन्न भएको छ । सङ्घीय सरकार र वालिङ नगरपालिकाको साझेदारीमा नगर अस्पताल भवनको निर्माण सम्पन्न भएको हो ।
वालिङ नगरपालिका–१, राम बाच्छामा निर्माण गरिएको भवन निर्माणका लागि नगरपालिकाले आशिस सिद्ध बाबा रुचि जेभिसँग १३ करोड लागतमा निर्माण गर्ने गरी २०७८ असार ८ गते सम्झौता गरेर भवन निमार्ण गरिएको नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले जानकारी दिए ।
कोभिडको महामारी,निर्माण सामाग्रीको अभावले गर्दा अस्पताल भवन निर्माण गर्न दुई पटक म्याद थप गरिएको थियो । स्थानीय विभिन्न व्यक्तिको अनुदान र खरिद गरी २० रोपनी क्षेत्रफलमा अस्पताल भवन निर्माण गरिएको छ । तीन वटा ब्लकमा निर्माण गरिएको अस्पताल तत्कालको लागि १५ शय्याको हुनेछ। अस्पताल भवन निर्माणका लागि २७ करोडको डिपिआर अनुरूप भवन निर्माण भए पनि कर्मचारी आवास गृह भने निमार्ण गर्न वाकिनै रहेको छ ।
जिल्लामा नै धेरै जनसङ्ख्या बसोबास गर्ने वालिङमा सुविधा सम्पन्न अस्पतालको अभाव हुँदा यहाँका नागरिक पोखरा तथा पाल्पा सम्म उपचारका लागि पुग्नुपर्ने बाध्यता छ ।