काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. सङ्गीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगका अनुसार विभागको ‘मेमोग्राफी’ मेसिन खरिदमा झुट्टा विवरण र बिल पेस गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरिएको हो। तिनीहरूले सम्झौताअनुसार सामग्री नआउँदै सबै प्राप्त भएको झुटो प्रतिवेदन तयार गरी भुक्तानी लिएको आरोप लागेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार डा. मिश्रासहितका १४ जनाविरुद्ध जनही रु १४ करोड ६ लाख ८५ हजार ५०० बराबरको बिगो र सजायको मागदाबी गरिएको छ। आरोपितहरूमा तत्कालीन निर्देशक, शाखा प्रमुख, लेखा नियन्त्रक, कानुन अधिकृत, इन्जिनियर, निरीक्षक तथा म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्स प्रालिसम्बन्धी व्यक्ति सुन्दर भुसाल पनि छन्।