वीरगञ्ज, पर्सा । प्रहरीले वीरगञ्जबाट ठूलो मात्रामा नेपालमा प्रतिबन्धित लागू औषधसहित दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको पकहाँ मैनपुर गाउँपालिका–५ निवासी १९ वर्षीय पुष्पेन्द्र पाण्डे र भारत, बिहार राज्यको रक्सौल निवासी १९ वर्षीय सचिन कुमार सिंह रहेका छन्।
आइतबार राति वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको सार्वजनिक रात्रि बसलाई वीरगञ्ज–१४ स्थित गण्डक चोकमा रोकेर प्रहरीले चेकजाँच गर्दा उनीहरू सवार बसबाट प्रतिबन्धित औषधि ट्रामाडोल क्याप्सुल २३,८८० पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतले जानकारी दिए।
पक्राउ परेका दुवै जनालाई वडा प्रहरी कार्यालय श्रीपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।