सङ्खुवासभा । सुत्केरी हुने क्रममा स्वास्थ्य अवस्था जटिल बनेपछि सङ्खुवासभाको मकालु गाउँपालिका–३ की २९ वर्षीया सीता तामाङको आज बिहान हवाई उद्धार गरिएको छ।
पाथिभरा स्वास्थ्य चौकीमा सुत्केरीका लागि पुगेकी तामाङको स्वास्थ्य अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरस्थित कोशी अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जानकारी दिए।
उनी आइतबार साँझ स्वास्थ्य चौकीमा पुगेकी थिइन्। स्वास्थ्य परीक्षणका क्रममा नवजात शिशुको अवस्था जटिल देखिएपछि तत्काल उच्च स्वास्थ्य सेवाका लागि रिफर गरिएको थियो।
सोमबार बिहान मकालु–३ सिम्मास्थित शोभा आधारभूत विद्यालयको मैदानबाट हेलिकप्टरमार्फत उद्धार गरिएको हो। “समयमै हवाई उद्धार हुँदा गर्भवतीको ज्यान जोगिएको हो,” प्रमुख जिल्ला अधिकारी थपलियाले बताए।
उद्धार कार्य राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत सम्पन्न गरिएको हो।