काठमाडौँ। मापदण्ड विपरीत औषधि बिक्री वितरण गर्दै आएको एक फार्मेसी प्रहरीको नियन्त्रणमा परेको छ।
प्रहरी वृत महाराजगञ्जको टोलीले टोखा नगरपालिका–५ बसुन्धरास्थित तक्षक फार्मेसीमा छापा मारेर चिकित्सकको सिफारिस बिना बिक्री हुँदै आएका विभिन्न औषधि बरामद गरेको हो।
बरामदमध्ये स्पेन लेखिएको ३८५ ट्याबलेट, एन्टिकोफ ७५० ट्याबलेट, प्रिगेबलिन १०० ट्याबलेट, प्रिगेबलिन क्याप्सुल एलपी २०० क्याप्सुल र प्रिगेमर–७५ का १०० क्याप्सुल रहेको प्रहरीले जनाएको छ।
वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाका अनुसार फार्मेसी सङ्खुवासभा खादवारी नगरपालिका–८ का ४० वर्षीय प्रकाश गौतमले सञ्चालन गर्दै आएका थिए। औषधि व्यवस्था विभागसँगको समन्वयपछि ती औषधि मापदण्ड विपरीत बिक्री वितरण गरिएको पुष्टि भएको उनले जानकारी दिए।