दार्चुला । जिल्लामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरबाट सेवा सुरु भएको छ। जिल्ला अस्पताल स्थापना (वि.सं। २०४२) भएयता पहिलो पटक डा। स्मृति शाहीले असोज ९ गतेदेखि सेवा दिन थालेको हो।
अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार स्त्रीरोग विशेषज्ञ नहुँदा महिलाहरू विशेष गरी गर्भवतीलाई उपचारमा कठिनाइ हुँदै आएको थियो। अब भने महिलाले आफ्नो रोग लुकाएर बस्नुपर्ने अवस्था अन्त्य भएको छ।
जिल्ला अस्पतालका प्रमुख डा। रवीन्द्र भट्टराईले लामो प्रयासपछि विशेषज्ञ ल्याउन सफल भएको बताए। उनका अनुसार अब महिलासम्बन्धी सबै प्रकारका रोग र शल्यक्रिया जिल्लामै गर्न सकिनेछ।
डा। शाहीले यसअघि डडेल्धुरा, जोरपाटी र म्याग्दीमा काम गरिसक्नुभएको छ। उनले भने, “दार्चुलाजस्तो दुर्गम क्षेत्रमा सेवा गर्न पाउनु मेरो लागि गर्वको कुरा हो।”
अस्पतालमा हाल तीन विशेषज्ञसहित १० चिकित्सक कार्यरत छन्। विशेषज्ञ सेवापछि बिरामीको चाप बढेको छ र भारततर्फबाट समेत बिरामी आउने क्रम सुरु भएको अस्पतालले जनाएको छ।