काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति ९ बजे पत्नी आरजु राणासहित उपचारका लागि सिंगापुर जाने भएका छन्।
देउवा र उनका पत्नीमाथि भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा जेनजी आन्दोलनको दोस्रो दिन कुटपिट भएको थियो। तत्काल सुरक्षाकर्मीको उद्धारपछि उनीहरूलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याइएको थियो।
कांग्रेस नेताहरूका अनुसार, देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ। जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा २८ गते केन्द्रीय कार्यालयमा उपस्थित भएका थिए। त्यही दिन देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति नियुक्त गरेका थिए।