काठमाडौं । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएपछि सोमबार बिहानदेखि तनावपूर्ण अवस्था सिर्जना भएको छ। मृतकका आफन्त र स्थानीयवासीले अस्पतालको लापरवाहीका कारण ज्यान गएको आरोप लगाउँदै अस्पताल परिसरमा प्रदर्शन र तोडफोड गरेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।
खोटाङकी मीना राईको गत शुक्रबार सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो। परिवारका अनुसार सामान्य स्वास्थ्य अवस्थाकी मीना प्रसूति प्रक्रियामा ज्यान गुमाउनु अस्पतालको ‘गम्भीर लापरवाही’ का कारण हो। अस्पताल प्रशासनले भने घटनाबारे आन्तरिक अनुसन्धान भइरहेको जनाउँदै ‘शान्ति र संयम अपनाउन’ आग्रह गरेको छ।
आज बिहान मृतकका आफन्त र स्थानीयहरू ‘अस्पताल जिम्मेवार ठहर गर्नुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने र दोषीमाथि कारबाही गर्नुपर्ने’ मागसहित अस्पताल परिसरमा जम्मा भएका थिए। स्थिति तनावपूर्ण बन्दै गएपछि प्रदर्शनकारीहरूले ढुंगामुढा गर्दै अस्पतालमा आक्रमण गर्न खोजेपछि प्रहरीले भीड नियन्त्रणका लागि बल प्रयोग गरेको हो।
ढुंगामुढा चल्दा केही व्यक्तिहरू घाइते भएका छन् भने अस्पतालको संरचनामा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। अहिले अस्पताल वरिपरि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र अस्पताललाई घेरेर राखिएको छ। अस्पतालले मृतकको उपचार प्रक्रियाबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन।
सुत्केरीको मृत्युको विषयमा प्रहरी, अस्पताल प्रशासन र स्थानीय प्रतिनिधिहरूबीच छलफल भइरहेको बताइएको छ।