काठमाडौं । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, ललितपुरमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न तनावका बीच चिकित्सक र स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालमा तोडफोड भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर आपत्ति जनाएको छ।
संघले मंगलबार जारी विज्ञप्तिमार्फत यस्तो अपराधिक कार्यको घोर भर्त्सना गर्दै अस्पतालजस्तो संवेदनशील क्षेत्रमा हिंसा र तोडफोड स्वीकार्य नहुने स्पष्ट पारेको छ।
संघले उपचारको क्रममा ज्यान गुमाएका बिरामीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, यदि उपचारमा लापरवाही भएको शंका भए कानूनी प्रक्रियामार्फत सत्य निश्चय गर्न सकिने भएकाले बल प्रयोग र तोडफोड अस्वीकार्य रहेको संघको भनाइ छ।
विज्ञप्तिमा भनिएको छ, “यस्ता अमानवीय घटनाले स्वास्थ्यकर्मीहरूको मनोबलमा आँच पुर्याउने मात्र होइन, समग्र स्वास्थ्य सेवा प्रणालीमा पनि नकारात्मक प्रभाव पार्छ।”
संघले दोषीलाई शीघ्र कानूनी दायरामा ल्याई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, २०६६ (पहिलो संशोधन २०७९) अनुसार कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। साथै, स्वास्थ्य सेवा सुरक्षित र भयरहित वातावरणमा प्रवाह गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ।