बाँके । बाँकेका किसानले उत्पादन गरेको तरकारीमा विषादीको मात्रा बढ्दै गएको पाइएको छ। नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशालामा गरिएको परीक्षणमा गत आर्थिक वर्ष २०८१/८२ मा १० किसिमका तरकारीमा अत्यधिक विषादी फेला परेको हो।
प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीका अनुसार सबै कैफियत पाइएका नमुना बाँकेकै हुन्, जसमा नौ वटा साग र एउटा बोडीको नमुनामा विषादीको मात्रा अत्यधिक भेटिएको हो। ती सबै नमुना ‘रेड लेबल’ अर्थात् उपभोग गर्न नमिल्ने श्रेणीका रहेका छन्।
गत वर्ष एक हजार ८८३ नमुना परीक्षण गर्दा १० वटामा कैफियत फेला परेको र अघिल्लो वर्ष सात वटा मात्र नमुना अस्वीकृत भएको चौधरीले बताए। चालु आवमा परीक्षण गरिएका ४८२ नमुनामा भने कुनै कैफियत नदेखिएको प्रयोगशालाले जनाएको छ।