भद्रपुर । झापामा पछिल्ला दिनमा रगतको गम्भीर अभाव देखिएको छ। नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अनुसार जिल्लाका अस्पताल र रक्तसञ्चार केन्द्रहरूमा रगतको मात्रा अत्यन्त न्यून भएको छ।
हाल झापाका छ वटा रक्तसञ्चार केन्द्रमा जम्मा २०० पिन्ट मात्र रगत मौज्दात रहेको शाखाले जनाएको छ। नियमित रूपमा मिर्गौला डायलाइसिस, शल्यक्रिया र आकस्मिक उपचारका लागि दैनिक करिब १०० पिन्ट रगतको आवश्यकता पर्ने भएकाले तत्काल रक्तदान अभियान आवश्यक रहेको बताइएको छ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले लगातार भएका चाडपर्व र विपद्का कारण रक्तसञ्चार केन्द्रमा रगतको भण्डारण घटेको जानकारी दिए। “अहिले जिल्लाभर रगतको अत्यधिक माग छ, त्यसैले सबैलाई रक्तदानका लागि आग्रह गरेका छौं,” उनले भने।
उनका अनुसार केही समयअघि झापाबाट ‘जेनजी’ आन्दोलनका क्रममा काठमाडौँमा करिब १५०० पिन्ट रगत पठाइएको थियो, जसका कारण अहिले स्थानीय स्तरमै रगतको अभाव देखिएको हो। रेडक्रसले व्यक्ति, विद्यालय, संघ–संस्था र समुदायलाई रक्तदान कार्यक्रम सञ्चालन गर्न र सक्रिय रूपमा सहयोग गर्न अनुरोध गरेको छ।
स्वास्थ्यकर्मीहरूले भने रगत अभावले आकस्मिक उपचारमा असर पर्न सक्ने भन्दै तत्काल रक्तदान अभियान तीव्र बनाउनुपर्नेमा जोड दिएका छन्।