बागलुङ । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा स्वास्थ्य चौकीको भवन बजेट अभावका कारण अधुरो बनेको छ। भवन नहुँदा स्थानीयले अहिले पनि पाहुना घरबाट स्वास्थ्य सेवा लिनुपरेको छ।
गत वर्ष सात रोपनी जग्गा व्यवस्थापनपछि रु ३८ लाखमा सुरु भएको निर्माण बजेट नपुग्दा रोकिएको हो। गाउँपालिकाको ढिलाइले समयमा सम्झौता नहुँदा भवन एक तला मात्र बनेर अलपत्र छ।
पूर्व वडाध्यक्ष केशव थापाका अनुसार स्वास्थ्य सेवा अहिले उनले वडाध्यक्ष हुँदा बनाएको पाहुना घरमै सञ्चालन भइरहेको छ। गाउँपालिकाले यस वर्ष बजेट विनियोजन नगरेपछि भवन अधुरै रहने देखिएको छ। गाउँपालिका अध्यक्ष राजु थापाले भने “प्रदेश वा सङ्घीय सरकारबाट बजेट आएपछि काम पूरा गर्ने” बताएका छन्।
स्वास्थ्य चौकीका प्रमुख गणेश शर्माका अनुसार आफ्नै भवन नहुँदा बर्थिङ सेन्टर र ल्याब सेवामा पनि कठिनाइ परेको छ।