बैतडी । पछिल्ला तीन महिनामा जिल्लामा १८ जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले जानकारी दिए। संक्रमितमध्ये मेलौलीका ८, दशरथचन्दका ६, पुर्चौंडीका ३ र पाटनका १ जना छन्।
गत वर्ष १०६ जनामा डेङ्गी पुष्टि भएको जिल्लामा अहिले लामखुट्टेको लार्भा खोजी तथा नष्ट गर्ने अभियान चलिरहेको स्वास्थ्य कार्यालयका प्रमुख तीर्थराज भट्टले बताए।
स्वास्थ्यकर्मीका अनुसार एडिस पोथी लामखुट्टेको टोकाइबाट डेङ्गी सर्छ। उच्च ज्वरो, टाउको दुखाइ, जोर्नी र मांसपेशी दुख्ने, खाना खान मन नलाग्ने र रगत बग्ने लक्षण देखिएमा तुरुन्त परीक्षण गर्न सुझाव दिइएको छ।