काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि सातै प्रदेशमा विशेषज्ञ टोली खटाउने निर्णय गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नर्सिङ कर्मचारीका तलब तथा सुविधा, जेन–जी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण, जेन–जी क्लिनिक सञ्चालनलगायत विषयमा अध्ययन गरी समाधानका विकल्प पहिल्याउन टोली परिचालन गरिनेछ।
टोलीले संघीय, प्रादेशिक र स्थानीय निकायबीच समन्वय गर्दै छलफल तथा सहजीकरण गर्नेछ। साथै मन्त्रालयले आफ्ना मातहतका विभाग र केन्द्रहरूलाई जनचाहना अनुसार स्वास्थ्य सुधारका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेश गर्न निर्देशन दिएको छ।
त्यस्तै, सार्वजनिक खरिद र औषधि दर्ता प्रक्रिया पारदर्शी र जनमैत्री बनाउन तथा प्राप्त गुनासाहरूको तत्काल समाधान गर्न पनि मन्त्रालयले सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।