सुर्खेत । विपद् जोखिमका हिसाबले संवेदनशील मानिने कर्णाली प्रदेशमा स्वास्थ्य क्षेत्रमा केन्द्रित ‘प्रदेश स्वास्थ्य आपत्कालीन तयारी र प्रतिकार्य योजना’ निर्माण सुरु भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य सेवा निर्देशनालय कर्णालीको समन्वयमा सुर्खेतमा तीनदिने कार्यशाला सुरु भएको हो। उद्घाटन कार्यक्रममा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीको भौगोलिक जटिलता र स्रोत अभावका कारण विपद् व्यवस्थापन चुनौतीपूर्ण भएको बताए।
सहसचिव दिवस आचार्यले प्रदेशको मौलिकता अनुरूप योजना बनाउन सरोकारवालाको सहभागिता जरुरी रहेको उल्लेख गरे। डा। अमृत पोखरेलले प्रदेशस्तरीय योजनालाई समायोजन गरी राष्ट्रियस्तरको प्रतिकार्य नीति बनाइने बताए।
जनस्वास्थ्य अधिकृत किरण शर्माले कर्णालीका २१ प्रकारका प्रमुख विपद् र तिनका स्वास्थ्य असरबारे प्रस्तुति दिएका थिए। कार्यशालामा दशवटै जिल्लाका स्वास्थ्य अधिकारी, सेना, प्रहरी र सरोकारवालाको सहभागिता रहेको थियो।