काठमाडौँ । नेपाल चिकित्सक सङ्घले स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई विभिन्न सुझावहरू प्रदान गरेको छ।
सङ्घका अध्यक्ष डा. अनिल विक्रम कार्की नेतृत्वको टोलीले आज मन्त्री गौतमलाई भेटी कार्यकालको शुभकामना दिँदै स्वास्थ्य क्षेत्रका चुनौती र सुधारका उपायहरूबारे औपचारिक सुझाव पेस गरेको हो।
सङ्घले प्राथमिक स्वास्थ्य संरचना सुदृढ बनाउने, राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, र सङ्घीय, प्रादेशिक तथा स्थानीय तहबीचको निगरानी र जबाफदेहिता प्रणाली स्पष्ट पार्ने आवश्यकता औँल्याएको छ।
भेटपछि जारी विज्ञप्तिमा सङ्घले प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरूमा चिकित्सक, औषधि, परीक्षण सुविधा र आवश्यक उपकरणको अभाव रहेको उल्लेख गरेको छ। मानवस्रोत समायोजन र व्यावसायिक क्षमताको कमीले स्वास्थ्य सेवा प्रभावित भइरहेको पनि जनाएको छ।
सङ्घले सबै तहका चिकित्सक र स्वास्थ्यकर्मीका लागि  “समान कामका लागि समान पारिश्रमिक” नीति तत्काल लागू गर्न, महिला स्वास्थ्य स्वयंसेविकाको सञ्जाल सुदृढ गर्न, स्थानीय सरकार र कानुनी प्रावधानमा सुधार ल्याउन आग्रह गरेको छ।
सङ्घका अनुसार, “स्वास्थ्य प्रणालीको सुधारका लागि स्पष्ट जिम्मेवारी, पूर्वाधार, मानवस्रोत, वित्तीय प्रवाह र गुणस्तर सुनिश्चित गर्न तीनै तहबीच सशक्त समन्वय अपरिहार्य छ।”