कैलाली। कैलारी गाउँपालिका–५ पवेराका ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिरामीको भीड लाग्छ । गाउँका सबैले ‘रामदास डाक्टर’ भनेर चिन्ने उहाँ औपचारिक रूपमा डाक्टर होइनन्, तर हाडजोर्नी, नसा र मांसपेशी सम्बन्धी समस्या हातले छामेर ठिक पार्ने सीप छ ।
कक्षा दुईसम्म मात्रै पढ्नुभएका कठरियाले बाल्यकालमै आफ्ना हजुरबुवाबाट यो सीप सिक्नुभएको हो । चार दशकदेखि उनले हजारौँ बिरामीलाई उपचार गर्दै आएका छन् । अस्पतालमा पनि निको नहुने बिरामी उनीकहाँ आएर राहत पाउने गरेका छन् ।
औषधि र उपकरणबिनै उनकै हात, अनुभव र सीपको भरमा उपचार गर्दै छन्। उपचारको कुनै शुल्क लिंदैनन्, बिरामीले आफ्नै गक्षअनुसार पैसा दिन्छन् । उनका लागि यो व्यापार होइन, सेवा हो ।
रामदास कठरियाले भन्छन्, “बिरामी ठिक भएपछि उनको मुस्कान नै मेरो सन्तुष्टि हो ।” अहिले उनि यो परम्परागत सीप नयाँ पुस्ताले सिकून् भन्ने चाहनामा हुन्छन् ।