दोलखा । दोलखा अस्पताल (धुलिखेल अस्पताल) ले गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको लागि विशेष सेवा सुरु गरेको छ ।
दोलखाको भीमेश्वर नगरपालिका–२ दोलखा बजारमा रहेको दोलखा अस्पतालमा मदर एण्ड चाईल्ड अस्पताल भवन निर्माण भएपछि गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको लागि विशेष सेवा सुरु भएको अस्पतालका प्रशासन प्रमुख श्याम बुढाथोकीले बताए ।
रोटरी इन्टरनेस्नल अस्ट्रेलिया र धुलिखेल अस्पतालको सहयोगमा भवन निर्माण भएको दोलखा अस्पताल (धुलिखेल अस्पताल) ले जनाएको छ ।
अस्पताल भवनको उद्घाटन भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर नारायण मानन्धरले गरेका थिए । सो अवसरमा नगरप्रमुख मानन्धरले स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा भौतिक, प्राविधिक र जनशक्तिको विकास भएपनि गाउँ– सहर सबैतिर जनसङ्ख्या घट्दै गएको र युवाहरू विदेश पलायनको क्रम बढ्दै गएकोले सेवा उपभोग गर्ने मानिसको अभाव हुने खतरा देखिएको बताए ।
सेवा– सुविधा सहित जनसङ्ख्या वृद्धि र युवा जनशक्तिलाई नेपालमै रोक्ने कुरामा समेत ध्यान दिनुपर्ने नगरप्रमुख मानन्धरको भनाई छ ।
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा। रामकण्ठ माकाजुको सभापतित्वमा सम्पन्न अस्पताल भवन उद्घाटन कार्यक्रममा रोटरी क्लब नेपाल– भुटानका पास्ट गभर्नर विष्णुबहादुर कार्की, रोटरी क्लब अस्ट्रेलियाका पास्ट गभर्नर डेबिट, दोलखा अस्पताल (धुलिखेल अस्पताल) का डा. अञ्जना डङ्गोल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अस्पतालमा मासिक ४०/५० जना गर्भवती तथा सुत्केरी महिलाहरू सेवाको लागि आउने गरेको अस्पतालका प्रशासन प्रमुख बुढाथोकीले बताए ।