जनकपुर। मधेशका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू विभिन्न मागसहित आन्दोलनमा उत्रिएका छन् । श्रमशोषण र असमान व्यवहारको विरोध गर्दै उनीहरूले आठ बुँदे मागसहित विरोध कार्यक्रम सुरु गरेका हुन् ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरूले लामो समयदेखि न्यून तलब, असुरक्षित कार्यपरिस्थिति र अवहेलनाको सामना गर्दै आएको गुनासो गरेका छन् । उनीहरूको प्रमुख मागमा सरकारको नियम अनुसार तलब स्केल लागू गर्नुपर्ने, स्वास्थ्यकर्मीको बीमा र सुरक्षाको व्यवस्था गर्नुपर्ने, हप्तामा बढीमा ४२ घण्टामात्र कामको सीमा तोक्नुपर्ने लगायतका छन् ।
स्वास्थ्यकर्मी नवेश अधिकारीका अनुसार मन्त्रालयले पटक–पटक सूचना जारी गरे पनि निजी अस्पतालहरूले त्यसको कार्यान्वयन नगरेका कारण आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको हो । आन्दोलनका कारण विभिन्न निजी अस्पतालका सेवा प्रभावित भएका छन् । सेवाग्राहीहरू उपचारका लागि अन्य विकल्प खोज्न बाध्य बनेका छन् ।