जनकपुरधाम। मधेश प्रदेशका विभिन्न पालिकामा स्थापना भएका जनस्वास्थ्य प्रयोगशालामा कार्यरत कर्मचारी सेवा निरन्तरताको माग गर्दै आन्दोलित बनेका छन् । प्रदेश सरकारले १ सय ३६ पालिकामा जनस्वास्थ्य प्रयोगशाला स्थापना गरी स्थानीय तहमै स्वास्थ्य परीक्षण सेवा सुरु गरेको थियो ।
हाल ती प्रयोगशालामा कार्यरत २ सय ७२ जना कर्मचारीले सेवाको निरन्तरताको माग गर्दै आन्दोलन थालेका हुन् । उनीहरूले आफ्नो रोजगार अस्थिर भएको र सरकारले वाचा गरेअनुसार स्थायित्व नदिएको गुनासो गरेका छन् ।
जनस्वास्थ्य विशेषज्ञहरूका अनुसार ग्रामीण क्षेत्रमा बढ्दै गएको नसर्ने रोगको पहिचान र नियन्त्रणमा यी प्रयोगशालाले महत्वपूर्ण योगदान दिएका छन् । सस्तोमा गुणस्तरीय परीक्षण सेवा उपलब्ध गराउँदा स्थानीयवासीहरू लाभान्वित हुँदै आएका छन् ।