रुकुम । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–१, मैकोटकी १५ वर्षीया किशोरीलाई गम्भीर प्रसव पीडापछि आज बिहान हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
मंगलवार बिहान करिब ४ बजे अचानक तीव्र प्रसव व्यथाले च्यापेपछि बिरामीलाई स्थानीय स्वास्थ्य चौकी मैकोटमा ल्याइएको थियो। स्वास्थ्यकर्मीहरूले प्रारम्भिक परीक्षण गर्दा अवस्था जटिल देखिएपछि तत्कालै उच्च तहमा रिफर गर्न आवश्यक ठहर गरे। त्यसपछि प्रमुख जिल्ला अधिकारी, गाउँपालिका स्वास्थ्य शाखा र नेपाली सेनासँग समन्वय गरी उद्धार प्रक्रिया अघि बढाइएको हो।
गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक कलिभान विष्टका अनुसार, बिरामीको पेट अत्यधिक काम्ने, सुन्निने र बेहोस हुने लक्षण देखिएपछि आपत्कालीन रूपमा उद्धारको निर्णय लिइएको हो। उनले भने, “बच्चा जन्मिने सम्भावित मिति मंसिरतिर भए पनि एक महिना अघि नै व्यथाले च्यापेपछि स्थिति गम्भीर भएको थियो।”
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी बिरामीलाई मैकोटबाट प्रादेशिक अस्पताल सुर्खेत पुर्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव विकले जानकारी दिए।
उद्धार कार्यमा संलग्न सबै सहयोगी संस्था र व्यक्तिहरूलाई धन्यवाद दिँदै विकले भने, “समयमै समन्वय र सहयोग पाएका कारण बिरामीलाई सुरक्षित रूपमा अस्पताल पुर्याउन सफल भयौं।”