नवलपरासी ।बर्दघाट नगरपालिकाले नगरवासीका लागि स्वास्थ्य सेवामा उल्लेखनीय पहल गर्दै निःशुल्क मोतियाबिन्दु शल्यक्रिया, रगत उपलब्धता र यातायात सुविधा सहितका जनमैत्री कार्यक्रम सञ्चालन गरेको छ।
नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकता दिँदै विभिन्न सेवा विस्तारका लागि बजेट विनियोजन गरेको हो। बर्दघाट–परासीमा अवस्थित बिनोद निता कँडेल आँखा अस्पतालमा मोतियाबिन्दु शल्यक्रियाका लागि ५ लाख रुपैयाँ बजेट छुट्याइएको छ। साथै, रगत र यातायात सेवाका लागि क्रमशः २र२ लाख रुपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।
गत वर्ष मात्रै १ सय ६० जना नागरिकले निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गराएका थिए। त्यसैगरी, रेडक्रससँगको सहकार्यमा निःशुल्क रगत वितरण कार्यक्रम र डायलासिस बिरामीका लागि गौतमबुद्ध अस्पतालसम्म निःशुल्क यातायात सुविधा समेत उपलब्ध गराइएको छ। गत वर्ष २४ जना बिरामीले यो सुविधा लिएको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले जानकारी दिएको छ।
नगरपालिकाले विगतका वर्षहरूमा थालिएको स्वास्थ्य सेवाका यी पहललाई अझ प्रभावकारी बनाउन तथा नयाँ स्वास्थ्य कार्यक्रमहरू विस्तार गर्ने तयारी समेत गरेको जनाएको छ।