नुवाकोट । बिरामी र सर्वसाधारणको सुविधाका लागि नुवाकोटको दक्षिणी भेगमा अवस्थित फिर्केपकोटमा नयाँ विस्तारित स्वास्थ्य इकाई केन्द्र सञ्चालनमा आएको छ । उक्त केन्द्रको औपचारिक उद्घाटन तारकेश्वर गाउँपालिका–६ फिर्केपकोटमा विशेष कार्यक्रमसहित गाउँपालिका अध्यक्ष शिव अधिकारीले गरे।
अध्यक्ष अधिकारीले गाउँका टाढा–टाढा रहेका बस्तीहरूलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यसहित स्वास्थ्य इकाई स्थापना गरिएको बताए। उनका अनुसार सामान्य उपचारदेखि सिटामोल जस्ता आधारभूत औषधिका लागि समेत घण्टौँ टाढा पुग्नुपर्ने बाध्यता अब समाप्त भएको छ।
“अब गाउँमै उपचार पाउने वातावरण बनेको छ,” अध्यक्ष अधिकारीले उद्घाटन कार्यक्रममा भने, “सेवा चुस्त र प्रभावकारी बनाउन सबै स्वास्थ्यकर्मी जिम्मेवार बन्नु आवश्यक छ।” उनले स्वास्थ्यकर्मीलाई जनगुनासो नआउने गरी नियमित र गुणस्तरीय सेवा दिन निर्देशन दिए।
अधिकारीले स्वास्थ्य सेवा अत्यावश्यक सेवामा पर्ने भएकाले जथाभावी बिदामा नबस्न र बस्नै परे अग्रिम रूपमा जानकारी गराई वैकल्पिक व्यवस्था मिलाएर मात्रै बिदामा बस्न आग्रह गरे। साँढे तीन वर्षको अवधिमा तारकेश्वरमा स्थापना गरिएको यो सातौँ विस्तारित स्वास्थ्य इकाई हो। हाल गाउँपालिकामा एक आयुर्वेदिकसहित १५ वटा स्वास्थ्य केन्द्रमार्फत सेवा प्रवाह भइरहेको छ।
तारकेश्वर गाउँपालिका नुवाकोटको एक पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो, जहाँ स्वास्थ्य सेवा विस्तारसँगै स्थानीयको दैनिकी थप सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ।