सिरहा । गत भदौ २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी हुँदा भवन पूर्ण रूपमा ध्वस्त भएको छ। त्यसपछि गाउँपालिकाले सेवा सञ्चालन गर्न अस्पतालको माथिल्लो तला प्रयोग गर्न थालेको छ।
गाउँपालिका अध्यक्ष शिवजी यादवका अनुसार नयाँ भवन निर्माणाधीन रहेकाले तत्कालका लागि अस्पतालसँग सहकार्य गरेर काम भइरहेको हो। सात करोड ९४ लाख रुपैयाँ लागतमा नयाँ प्रशासकीय भवन यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने तयारी गरिएको छ।
अस्पताल र गाउँपालिका एउटै भवनमा सञ्चालन हुँदा दुबैको काम प्रभावित भएको छ। अस्पताल प्रमुख उपेन्द्र यादवका अनुसार सेवाग्राहीको भीडभाडका कारण बिरामी उपचारमा असहजता बढेको छ भने पन्ध्र शय्याको अस्पतालमा हाल पाँच शय्या मात्रै सञ्चालनमा छन्। दैनिक सयभन्दा बढी बिरामी आउने भएकाले स्वास्थ्यकर्मीलाई सेवा प्रवाह गर्न थप चुनौती थपिएको अस्पताल प्रशासनले जनाएको छ।