काठमाडौँ। काठमाडौँ महानगरपालिकाले अब आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्क वितरण हुने औषधि सिंहदरबार वैद्यखानाबाट लिने भएको छ। यसका लागि कामपा स्वास्थ्य विभाग र वैद्यखानाबीच लागत मूल्यमा औषधि उपलब्ध गराउने सम्झौता भएको छ।
स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीका अनुसार यसबाट आयुर्वेदिक सेवा वितरणमा सहजता आउनेछ। फोकल पर्सन ज्ञानबहादुर ओलीले नेपाल सरकारले तोकेको निःशुल्क औषधि वैद्यखानाबाट प्राप्त हुने व्यवस्था गरिएको बताए। वैद्यखानाले मागपछिका सात दिनभित्र ७५ प्रतिशत उपभोग अवधि बाँकी औषधि उपलब्ध गराउनेछ।
वैद्यखानाका कार्यकारी निर्देशक डा. प्रदीप केसीले गुणस्तरीय औषधि उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।