काठमाडौँ। स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ।
शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि वितरण गरिँदैछ। दोस्रो चरणको कार्यक्रम आगामी वैशाख ६ र ७ गते सञ्चालन गरिनेछ।
कार्यक्रम प्रभावकारी बनाउन देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएका छन्। बालबालिकामा कुपोषण र रोग प्रतिरोधात्मक क्षमता घट्ने जोखिम कम गर्न सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउँदै आएको हो।