काठमाडौँ। नेपाल नर्सिङ संघले नर्सिङ जनशक्तिका पारिश्रमिक, भत्ता र वृत्ति विकाससम्बन्धी माग कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ।
संघकी महासचिव डा. देवकी कुमारी आचार्यले मन्त्रीलाई बुझाएको पत्रमा हालैको सहमतिमा उल्लेख गरिएको “ग्रस स्यालरी” शब्दप्रति स्पष्टता माग गर्दै त्यसलाई “बेसिक स्यालरी” का रूपमा कायम गर्न अनुरोध गरेकी छन्।
संघले अतिरिक्त समय, रात्रीकालीन र जोखीम भत्ता, पोशाक भत्ता लगायतका सुविधामा स्पष्ट रकम तोक्न माग गरेको छ। साथै, सुगम क्षेत्रमा सेवा गर्ने नर्सहरूको बढुवा र स्तर उन्नती एक महिनाभित्र नियमावलीमार्फत लागू गर्न आग्रह गरिएको छ।
डा. आचार्यले नर्सिङ पेशाकर्मीको मनोबल उच्च राख्न सरकारलाई गम्भीर पहल गर्न आग्रह गरेकी छन्।