रौतहट । दुर्गा भगवती गाउँपालिका–२ पिपरा भलोहियास्थित सरस्वती माध्यमिक विद्यालयमा आयोजित एक दिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
रुइत फाउण्डेशनको आर्थिक सहयोग, दुर्गा भगवती गाउँपालिकाको समन्वय र नेपाल नेत्र ज्योति संघ गौर आँखा अस्पताल पुरेनवाको प्राविधिक सहयोगमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गरिएको शिविरमा स्थानीयवासीको उत्साहजनक सहभागिता देखियो।
शिविरमा कुल २२८ जनाले आँखा परीक्षण गराएका थिए, जसमा ११९ जना महिला र १०९ जना पुरुष रहेका थिए। गौर आँखा अस्पतालका कर्मचारी तथा शिविर संयोजक सत्येन्द्र पाण्डेका अनुसार परीक्षणमा सहभागीमध्ये १२६ जनालाई औषधि वितरण गरिएको र ७ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको थियो।
त्यसैगरी, ८२ जनामा मोतिबिन्दुको समस्या पत्ता लागेपछि उनीहरूको निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको छ। ती बिरामीहरूलाई अस्पतालको बसमार्फत आइतबारदेखि मङ्गलवारसम्म गौर आँखा अस्पताल पुर्याइने र शल्यक्रिया सम्पन्न भएपछि पुनः घरमै पुर्याइदिने तयारी भएको संयोजक पाण्डेले जानकारी दिए।
शिविरको उद्घाटन दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले गरेका थियो। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, गौर आँखा अस्पतालका प्राविधिक तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।