काठमाडौँ । चिकित्सा शिक्षा सुधारका मागसहित डा. गोविन्द केसीले प्रधानमन्त्री सुशीला कार्कीलाई दश बुँदे ज्ञापनपत्र बुझाएका छन्।
प्रधानमन्त्री कार्कीलाई सिंहदरबारमा भेट्दै डा. केसीले उक्त ज्ञापनपत्र हस्तान्तरण गरेका हुन्। प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार, सो अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा. सुधा गौतम, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी झा, पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी र प्रा. जगदीशप्रसाद अग्रवाल पनि उपस्थित थिए।
ज्ञापनपत्रमा सरकारी अस्पताल र स्वास्थ्य सेवा संस्थामा हालको आवश्यकता अनुसार जनशक्ति दरबन्दी बढाउनुपर्ने, चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि स्थायी रोजगारीका अवसर सिर्जना गर्नुपर्ने लगायतका मागहरू समावेश छन्। डा. केसीले चिकित्सा शिक्षाको पहुँच, गुणस्तर र पारदर्शिता सुधार गर्न सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेका छन्।