विराटनगर। विश्व मधुमेह दिवसको अवसरमा न्युरो कार्डियो एण्ड मल्टिस्पेशालिटी अस्पतालले विराटनगरमा निःशुल्क ब्लड सुगर परीक्षण तथा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) र विराटनगर महानगरपालिका वडा नं. १० को सहकार्यमा आयोजित कार्यक्रममा करिब १५० भन्दा बढीले निःशुल्क सुगर परीक्षण गराएका छन्।
कार्यक्रम नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः)को प्रांगणमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा नं. १० का प्रतिनिधि, झी पुचःका पदाधिकारी तथा अस्पतालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
जनचेतना सत्रका क्रममा वरिष्ठ विशेषज्ञ फिजिसियन डा. विवेक कट्टेल र वरिष्ठ विशेषज्ञ प्याथोलोजिस्ट डा. सागरराज पाण्डेले मधुमेहका कारण, जोखिम, रोकथामका उपाय र समयमै उपचारको महत्वबारे विस्तृत जानकारी दिए। उनीहरूले सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैली अपनाए मधुमेहलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिने सुझाव दिए।
अस्पतालका अनुसार मधुमेहको बढ्दो जोखिमबारे सर्वसाधारणलाई सचेत बनाउन यो कार्यक्रम आयोजना गरिएको हो।
बालबालिकाका लागि निःशुल्क ओपिडी र छुट योजना घोषणा
निःशुल्क सुगर परीक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेसँगै अस्पतालले आउने दिनका लागि विशेष छुट योजना पनि सार्वजनिक गरेको छ। अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर कार्तिक ३० गतेदेखि मंसिर ५ गतेसम्म १५ वर्षसम्मका बालबालिकाका लागि निःशुल्क ओपिडी सेवा प्रदान गरिने अस्पतालले जनाएको छ।
सोही अवधिमा चिकित्सकको प्रेस्क्रिप्सनअनुसार गरिने सबै प्रकारका निदान सेवामा १५ प्रतिशत छुट उपलब्ध गराइनेछ।