बैतडी । पाटन नगरपालिका–८ खोड्पेमा निर्माण गरिएको ट्रमा सेन्टर अझै सञ्चालनमा आउन सकेको छैन । आकस्मिक उपचारका लागि बनाइएका भवन र संरचना वर्षौँदेखि प्रयोगविहीन बनेका छन्।
स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार आवश्यक जनशक्ति र उपकरण अभाव नै सञ्चालन नहुनुुको मुख्य कारण हो। “भौतिक संरचना तयार छ, तर जनशक्ति र आवश्यक मेसिनरी नगरपालिकाले आफ्नै स्रोतबाट जुटाउन सम्भव छैन,” महराले बताए। उनका अनुसार प्रदेश र संघीय सरकारसँग आवश्यक सहयोगको माग राखिएको छ।
स्थानीय तह तथा संघीय सरकारको संयुक्त ६० लाख रुपैयाँ लगानीमा २०७९ सालमा भवन निर्माण सम्पन्न भए पनि सेवा भने सुरु भएको छैन। सेन्टरमा ‘स्पाइनल ब्यागबोर्ड’, ‘एइडी मेसिन’, ‘अक्सिजन कन्स्ट्रक्सन’, ‘प्यासेन्ट मोनिटर’ र १५ वटा बेडसिट जडान भइसकेका छन्। खानेपानी र विद्युत् व्यवस्थापन पनि एक वर्षअघि सम्पन्न भएको छ।
तर एक्स–रे मेसिन र विशेषज्ञ चिकित्सक अभावमा ट्रमा सेन्टर खुल्न नसकेको महराको भनाइ छ। “यी दुवै व्यवस्था गर्न सके तुरुन्तै सेवा दिन सकिन्छ,” उनले भने।