काठमाडौँ। स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले मन्त्रालय सम्हालेको एक महिनामै कर्मचारी र दातृ निकायको कार्यशैलीले आफू निराश भएको स्पष्ट गर्दै आन्तरिक सुधारलाई प्राथमिकतामा राख्ने बताएकी छन्। राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठी (एनजार) उद्घाटन गर्दै उनले अपेक्षित परिवर्तन नदेखिएको र संयन्त्रको काम ‘प्रभावहीन’ रहेको टिप्पणी गरिन्।
मन्त्री शर्माले सुरुमा सबै कर्मचारीलाई ‘फ्रेमिङसहितको सम्मानपत्र’ दिने योजना बनाएको तर कार्य प्रदर्शनले त्यसलाई सार्थक नबनाएको बताइन्। उनले स्वास्थ्य बीमा कार्यक्रम, औषधि व्यवस्था, उपकरण खरीददेखि मानसिक स्वास्थ्य र विदेशी रोजगारीमा गएका श्रमिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकता बनाउने भनाइ राखिन्।
विदेशमा रहेका नेपालीका लागि मृगौला तथा अन्य स्वास्थ्य परामर्श सेवा २४ घण्टा उपलब्ध गराइएको भन्दै उनले ००९७७९७६३४९०९०० (Viber/WhatsApp/IMO) र अन्य स्वास्थ्यसम्बन्धी सेवाका लागि ००९७७९८५१३४५७०१/७०२ मा सम्पर्क गर्न सकिने जानकारी दिइन्। त्रिभुवन विमानस्थलमा श्रमिकका लागि सचेतनामूलक स्वास्थ्य सन्देश पनि राखिएको छ।
भित्रि कमजोरी, ढिलासुस्ती र नतिजामुखी काम नबढेकोा गुनासो गर्दै उनले ‘अब अधिकारप्रति सबै सचेत भएका कारण स्वास्थ्यकर्मी अझ जिम्मेवार र चनाखो बन्नुपर्ने’ उल्लेख गरिन्। भ्रष्टाचार न्यूनिकरण, सेवा प्रभावकारिता र अनुगमन मजबुत बनाउने सरकारको स्पष्ट म्यान्डेट रहेको उनले दोहोर्याइन्।