काठमाडौँ। सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति, हिंसामा परेकालगायत समुहलाई अब काठमाडौँ महानगरपालिकाले निःशुल्क स्वास्थ्योपचार उपलब्ध गराउने भएको छ। यसका लागि महानगरले चालु आवका लागि छत्रपाटी निःशुल्क चिकित्सालयसँग औपचारिक सम्झौता गरिसकेको छ।
उपप्रमुख सुनिता डंगोलका अनुसार उपचारमा जान कोही नपुग्ने, अभावग्रस्त नागरिकलाई ‘महानगर छ’ भन्ने अनुभूति दिलाउने उद्देश्यले सेवा सुरु गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले सहज सेवा र दुरुपयोग रोक्न अस्पताललाई कडाइका साथ सेवा प्रवाह गर्न आग्रह गरे।
सम्झौताअनुसार कामपाका जनप्रतिनिधि तथा कर्मचारीलाई समेत उपचार सुविधा उपलब्ध हुनेछ। महिला कर्मचारी/जनप्रतिनिधिका लागि म्यामोग्राम सेवा र लैङ्गिक हिंसामा परेका व्यक्ति तथा अपाङ्गता भएका व्यक्तिका लागि सिफारिसमार्फत विशेष उपचार उपलब्ध गराइनेछ।
महानगरले यसका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ भने अस्पतालले ३० प्रतिशत थपेर १ करोड ८० लाख बराबरको सेवा दिनेछ। सेवा लिन परिचयपत्र, सामाजिक सुरक्षा भत्ता कार्ड, राष्ट्रिय परिचय पत्र वा नागरिकता अनिवार्य रहने महानगरले जनाएको छ।