चितवन । मंसिर ११ गते राति माडीस्थित बघौडा अस्पतालमा भएको आक्रमण घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर चासो व्यक्त गरेको छ। मादक पदार्थ सेवन गरेका केही युवाहरूको समूह अस्पताल भित्रै प्रवेश गरी उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट, धम्की र दुर्व्यवहार गरेको घटनालाई संघले आपराधिक आक्रमणका रूपमा व्याख्या गर्दै कडा रूपमा भत्सर्ना गरेको छ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा सुरक्षा भंग हुने यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षा कमजोर बनाउनुका साथै स्वास्थ्य सेवामा प्रत्यक्ष असर पर्ने संघले जनाएको छ। यस्ता घटना बढ्नुले उपचारकर्तामाथि मनोवैज्ञानिक दबाब सिर्जना गर्दै सेवा प्रवाह नै प्रभावित हुने चेतावनी संघले दिएको छ।
घटनामा संलग्न भई प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरूलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९)’ अनुसार कडा कारबाही गर्न संघले नेपाल प्रहरी र सम्बन्धित निकायलाई आग्रह गरेको छ।
संघले अस्पताल तथा स्वास्थ्य संस्थामा सुरक्षित र भयरहित वातावरण सुनिश्चित गर्न राज्यले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने माग गर्दै स्वास्थ्य सेवा प्रदान गर्ने स्थललाई आतंकित बनाउने प्रवृत्ति कुनै हालतमा सह्य नहुने चेतावनी पनि दिएको छ।