बाँके । पछिल्लो एक वर्षमा बाँकेमा ८० जना नयाँ एचआईभी संक्रमित फेला परेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। फोकलपर्सन रविन्द्र कुमार साहका अनुसार ८ हजार ६९७ जनामा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएका हुन्।
यस अवधिमा ‘प्रिभेन्सन अफ मदर–टु–चाइल्ड ट्रान्समिसन’ (पीएमटिसिटी) कार्यक्रमअन्तर्गत २८ हजार २३४ गर्भवती महिलाको परीक्षण गरिएको थियो, तर उनीहरूमध्ये कुनै नयाँ संक्रमित भेटिएन।
भेरी अस्पतालमा हाल ६१३ जना संक्रमितले नियमित रूपमा एआरटी सेवा लिइरहेका छन्। साहका अनुसार रोकथाम, उपचार, गुणस्तरीय सेवा विस्तार तथा समुदायमा रहेको कलंक–भेदभाव न्यूनीकरणमा अझै चुनौती कायम छ। संक्रमितलाई आत्मनिर्भर बनाउन जीविकोपार्जन कार्यक्रम सुदृढ गर्न आवश्यक रहेको उनको भनाइ छ।
अभियन्ताहरूले एचआईभी–एड्स नियन्त्रणका लागि स्थानीय तहले अझ जिम्मेवार र सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूका अनुसार सबै तहको सहकार्यबिना संक्रमण नियन्त्रण सम्भव छैन।
नेपालमा सूईद्वारा लागूपदार्थ सेवन गर्ने व्यक्ति, यौनकर्मी, जेलका कैदी, पुरुष समलिंगी तथा तेस्रोलिंगी समुदायका व्यक्ति र विदेश जाने श्रमिक उच्च जोखिम समूहमा परेका छन्। अध्ययनहरूले सूई प्रयोगकर्ता र पुरुष समलिंगी यौनकर्मीहरूमा संक्रमणदर विशेष रूपमा उच्च देखाएका छन्।
यस वर्ष ३८औँ विश्व एड्स दिवस ‘अवरोधहरू पार गरौं, एड्स प्रतिकार्य रूपान्तरण गरौं’ भन्ने नाराका साथ मनाइँदैछ। दिवसमा नेपालगन्जमा प्रभातफेरीसहित विभिन्न सन्देशमूलक कार्यक्रम सम्पन्न भएका छन्।
विशेषज्ञहरूका अनुसार समयमै परीक्षण, नियमित उपचार, सुरक्षित व्यवहार र समुदायको साझेदारीले मात्र बाँकेसहित देशभर एचआईभी संक्रमण दर घटाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।