काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको मायादेवी गाउँपालिकामा स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनका नाममा आर्थिक अनियमितता गरिएको ठहर गर्दै सिअहेव महेन्द्र प्रसाद यादवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७५ देखि २०७९ मा सञ्चालन गर्ने भनिएका स्वास्थ्य कार्यक्रमका लागि लिइएको पेश्की रकम तोकिएका काम पूरा नगरी, आवश्यक कागजात—बिलभरपाई पेश नगरेर सार्वजनिक संपत्तिमै हिनामिना भएको प्रमाण भेटिएको छ।
मुद्दा दायर गरिएका व्यक्तिहरूमा सिअहेव यादवसँगै गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, प्रमेश्वर यादव, कृष्ण प्रसाद तिमिल्सिना, तत्कालीन लेखा अधिकृत प्रकाश गौतम, लेखापाल तुल्सीराम पौडेल र लेखा गिरिराज गौतम रहेका छन्।
अख्तियारले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा १७ बमोजिम ४६ लाख ७ हजार ३ सय रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।
अख्तियारका स्रोतका अनुसार स्वास्थ्य कार्यक्रमका नाममा वर्षौँसम्म पेश्की रकम रोकिएका कारण गाउँपालिकामा पारदर्शिता र सार्वजनिक वित्तीय अनुशासनमाथि प्रश्न उठेको छ।