रसुवा । विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र औषधिको पहुँच बढेपछि विकट पहाडी जिल्ला रसुवामा स्वास्थ्य सेवा उल्लेख्य रूपमा सुधारिएको छ।
धामी–झाँक्रीमा भर पर्न रसुवावासी अहिले अस्पतालमै उपचारका लागि अगाडि बढ्न थालेका छन्। स्थानीय सरकार, अस्पताल, विद्यालय र विभिन्न संस्थाको संयुक्त पहलले अस्पताल जानेको संख्या तीव्र रूपमा बढेको स्वास्थ्यकर्मी बताउँछन्।
जिल्ला अस्पताल रसुवाले साउनदेखि कात्तिकसम्म २,९३५ जनाको उपचार, ३७६ दन्त रोग, ४५९ एक्स–रे, २८१ अल्ट्रासाउन्ड, २०० इसिजी सेवा प्रदान गरेको छ। जटिल प्रकृतिका ८० बिरामी काठमाडौँ रेफर गरिएको छ।
निक साइमन्स इन्स्टिच्युटको सहयोगमा सञ्चालित अस्पतालले शल्यक्रियासहित जटिल रोगको उपचार गर्न थालेपछि जिल्लावासी सहज भएका छन्। गत वर्ष ३९ महिलाको सफल शल्यक्रिया, ८ हर्निया, १८ एपेन्डिस उपचार गरिएको थियो।
चिसो बढेसँगै बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन अस्पताल र नागरिक समाजले आग्रह गरेका छन्।