काठमाडौं । देशभर चिसो बढ्दै जाँदा श्वासप्रश्वाससम्बन्धी समस्या देखिने घटनाहरू बढिरहेका बेला नेपालका विभिन्न ठाउँमा Influenza (फ्लु) भाइरस को संक्रमण फैलिएसँगै नेपाल चिकित्सक संघले जनहितमा विशेष अपिल जारी गरेको छ।
चिकित्सक संघका अनुसार रोग लागेपछि उपचार खोज्नेभन्दा पहिले नै रोकथाम गर्नु प्रभावकारी उपाय भएकाले फ्लु संक्रमणको जोखिममा रहेका नागरिकले समयमै Flu Vaccine लिन अत्यन्तै जरुरी भएको बताइएको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति फ्लु संक्रमणका लागि संवेदनशील समूह मानिन्छन्।
संघले यस्ता जोखिम समूहका नागरिकहरूलाई “समयमै खोप लगाएर जटिलता हुन नदिनु सबैभन्दा सुरक्षित उपाय हो” भन्दै खोप केंद्रहरूमा पुग्न आग्रह गरेको छ।
यस्तै, नेपाल चिकित्सक संघले सरकारले जोखिमयुक्त जनसंख्या समूहलाई प्रत्येक वर्ष निःशुल्क फ्लु खोप उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्नुपर्ने माग पनि पुनः दोहोर्याएको छ।