मुस्ताङ। मुस्ताङमा अत्यधिक चिसो बढेसँगै बालबालिका र ज्येष्ठ नागरिक रुघाखोकी, ज्वरो र निमोनियाबाट बढी प्रभावित भएका छन्। प्रादेशिक अस्पताल जोमसोमका अनुसार पछिल्लो समय बालबालिकामा स्वासप्रश्वाससम्बन्धी समस्या बढ्दै गएको छ। साउनदेखि मंसिर दोस्रो सातासम्म अस्पतालमा भर्ना हुने बालबालिकाको संख्या करिब ७० प्रतिशतले बढेको छ।
१५ श्ययाको अस्पतालमा चिसोका कारण बिरामीको चाप बढ्दा उपचारमा कठिनाइ र श्यया अभाव देखिएको मेडिकल सुपरिटेन्डेन्ट डा. समीक्षा कँडेलले बताइन्। उनका अनुसार ओपिडी सेवा लिने र भर्ना हुनेमध्ये धेरैजसो १० वर्षमुनिका बालबालिका छन्।
डा. कँडेलले चिसोबाट जोगिन तातोपानी पिउने, पोषणयुक्त खाना खाने, कोइला वा हिटर प्रयोग गर्दा भेन्टिलेसन खुला राख्नेजस्ता सावधानी अपनाउन आग्रह गरेका छन्। चिसो बढेपछि माथिल्लो मुस्ताङका धेरै शैक्षिक संस्था जाडो छल्न बेँसी झरेका छन् भने केही गाउँपालिकाका विद्यालय भने यथावत् सञ्चालनमा छन्।