पाल्पा । पहाडी जिल्लामा चिसो तीव्र रूपमा बढेसँगै पाल्पामा श्वासप्रश्वाससम्बन्धी बिरामीको संख्या ह्वात्तै बढेको छ। पाल्पा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. राजेन्द्र पौडेलका अनुसार पछिल्लो एक हप्तादेखि अस्पतालमा दैनिक ५०–६० जना श्वासप्रश्वासका समस्या लिएर आउने गरेका छन्।
डा. पौडेलका अनुसार अचानक बढेको चिसोमा सावधानी नअपनाउँदा बिरामी बढ्ने गरेको हो। विशेषगरी ग्रामीण क्षेत्रका वृद्ध–वृद्धा, महिला र बालबालिका बढी प्रभावित भइरहेको अस्पतालको भनाइ छ।
स्वास्थ्य कार्यालय पाल्पाले पनि चिसो याममा मानिसहरूले मौसमअनुसार आहार–व्यवहारमा ध्यान नदिँदा श्वासप्रश्वास, हाड–जोर्नी दुखाइ र आँखासम्बन्धी समस्या बढेको जनाएको छ।
जिल्लास्थित मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, खस्यौली र ताहुँ प्राथमिक स्वास्थ्य केन्द्र, १० वटै स्थानीय तहका स्वास्थ्य चौकी तथा निजी अस्पतालहरूमा समेत यस्तै समस्या लिएर आउनेको संख्या बढिरहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।
चिकित्सकहरूका अनुसार चिसो बढेसँगै धुलो–धुवाँबाट जोगिन, पोषिलो खानेकुरामा जोड दिन र बिहान–साँझको कडा चिसोमा अनावश्यक रूपमा घरबाहिर ननिस्किनु नै सबैभन्दा प्रभावकारी सावधानी हो।