चितवन । नेपालका लागि पाकिस्तानी राजदूतावासले भरतपुर आँखा अस्पताललाई कागजरहित (पेपरलेस) प्रविधिको विकासका लागि १० लाख सहयोग प्रदान गरेको छ। राजदूत अब्रार एच। हासमीले एक विशेष कार्यक्रममा उक्त सहयोग रकम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई हस्तान्तरण गरे।
सो अवसरमा राजदूत हासमीले गाउँ–बस्तीसम्म पुगेर सेवा पुर्याइरहेको अस्पतालको भूमिकाको प्रशंसा गर्दै स्वास्थ्य सेवा सबैका लागि सजिलो र पहुँचयोग्य हुनु आवश्यक रहेको बताए। उनले निरन्तर प्राप्त हुँदै आएको पाकिस्तानी पक्षको सहयोगले अस्पताललाई आधुनिक प्रविधितर्फ उकास्न मद्दत पुर्याइरहेको उल्लेख गरे। आगामी दिनमा पनि आँखा उपचार क्षेत्रमा पाकिस्तान सरकारले समर्थन जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरे।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठका अनुसार स्थापना कालदेखि नै पाकिस्तान सरकारले भरतपुर आँखा अस्पताललाई निरन्तर सहयोग गर्दै आएको छ। अस्पताल भवन निर्माण (वि.सं. २०४४) देखि लिएर फेको मेसिन, फार्मेसी तथा अप्टिकल डिस्पेन्सर भवन, मोडुलर शल्यक्रिया कक्ष, पिकअप भ्यानलगायतमा समेत पाकिस्तानी सरकारका तर्फबाट करोडौँ रुपैयाँ बराबरको सहयोग प्राप्त हुँदै आएको छ।
कार्यक्रममा राजदूतावासका हेड अफ चान्सरी मोहम्मद जाकिर खान, प्रोटोकल अफिसर प्रभाकर दाहाल, नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्केसहित प्रदेश–जिल्लास्तरका पदाधिकारी तथा अस्पतालका कर्मचारीको उपस्थिति थियो। कार्यक्रममा सह–प्राध्यापक डा। पुष्पा गिरी श्रेष्ठले अस्पतालका वर्तमान गतिविधि र सेवाबारे जानकारी प्रस्तुत गरेका थिए।