नेपालगञ्ज । बाँके र बर्दियाका थारू समुदायमा देखिने सिकलसेल एनिमियाका बिरामीका लागि सरकारले गरेको उपचार सहयोगले हजारौँ परिवारको जीवनमा राहत पुगेको छ । वर्षौँदेखि औषधि र परीक्षण खर्चको भारी बोझसहित रोगसँग लड्दै आएका बिरामीहरू अहिले राज्यको सहायताले सहज उपचार पाउँदै जीवनमा नयाँ आशा देखिरहेका छन्।
राप्तीसोनारीकी कृष्टि थारुका अनुसार पहिले महँगो उपचारले परिवारलाई ठूलो तनाव हुन्थ्यो । तर अहिले विपन्न नागरिक उपचार कोष र सामाजिक सुरक्षा कोष जोडिएर वर्षमै ३ लाख रुपैयाँ उपचार खर्च उपलब्ध हुँदा राहत मिलेको उनले बताइन्।
बढैयातालका भोला सिंह थारु पनि पहिले औषधि किन्न नसक्दा उपचार अधुरो राख्नुपर्थ्यो । अहिले भने निःशुल्क औषधि र सेवा उपलब्ध भएपछि स्वास्थ्यमा सुधार आएको बताउँछन्।
भेरी अस्पतालका सह–प्रा।डा। राजन पाण्डेका अनुसार पछिल्ला १० वर्षमा सिकलसेल एनिमिया उपचारमा ठूलो प्रगति भएको छ। पहिले परीक्षणका लागि भारतै धाउनुपर्ने बाध्यता हटेको छ। देशभरका दुई दर्जनभन्दा बढी प्रयोगशालामा अब परीक्षण उपलब्ध छ। भेरी अस्पतालमा १६ वेडको विशेष वार्ड, निःशुल्क परीक्षण, ब्लड ट्रान्सफ्युजन र औषधि सेवा सञ्चालनमा छन्।
थारू समुदायमा करिब ११ प्रतिशतमा देखिने यो रोग पहिचानका लागि विद्यालयदेखि स्थानीय तहसम्म परीक्षण अभियान चलेको छ। स्थानीय तहले आफ्नै प्रयोगशाला सञ्चालन गरी सेवा उपलब्ध गराउँदै आएका छन्।
सिकलसेल रोगलाई पहिचान, उपचार र जागरण सबै क्षेत्रमा उल्लेखनीय प्रगति भएपछि अब बिरामी र परिवारको जीवन सहज बन्दै गएको छ।