काठमाडौँ । पाकिस्तान सरकारले भरतपुर आँखा अस्पतालको पूर्वाधार सुदृढीकरणका लागि १० लाख रुपैयाँ सहायता प्रदान गरेको छ।
अस्पताल परिसरमा मङ्गलबार आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच। हाश्मीले उक्त रकमको चेक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई हस्तान्तरण गरे।
सहयोग हस्तान्तरण कार्यक्रममा राजदूत हाश्मीले पाकिस्तान–नेपालबीचको मैत्री सम्बन्धलाई झनै मजबुत बनाउन स्वास्थ्य क्षेत्र महत्वपूर्ण कडी हुने बताएका थिए। उनले पाकिस्तानी सहयोगमा स्थापना भएको आँखा अस्पताललाई आगामी दिनमा पनि निरन्तर सहयोग पुर्याउन पाउँदा पाकिस्तान गर्वित रहेको उल्लेख गरे।
पाकिस्तानी दूतावासका अनुसार राजदूत हाश्मीले यसअघि चितवन शिक्षण अस्पतालको निरीक्षण गर्दै त्यहाँका विद्यार्थीहरूसँग भेटघाट तथा अनुभव आदान–प्रदान गरेका थिए। त्यसअघि उनले लुम्बिनीको भ्रमण गरी लुम्बिनी विकास बोर्ड र लुम्बिनी नगरपालिकाका कार्यवाहक प्रमुखसँग बेग्लाबेग्लै छलफल समेटिएको कार्यसूची सम्पन्न गरेका थिए।