काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोयाम सुरुसँगै बढ्दै गएको इन्फ्लुएन्जा ९फ्लु० सङ्क्रमणबाट सतर्क रहन जनतामा आग्रह गरेको छ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार फ्लु जाडो मौसममा अत्यधिक सक्रिय हुने भाइरस भएकाले शिशुदेखि वृद्धसम्म सबै उमेरका मानिसमा संक्रमणको जोखिम बढ्ने गर्छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा कमजोर रोग प्रतिरोधात्मक क्षमताका व्यक्तिमा संक्रमणको सम्भावना अझै धेरै हुने उनले बताए।
डा। बुढाथोकीका अनुसार अधिकांश विरामीलाई एन्टिभाइरल औषधि वा चिकित्सकको विशेष हेरचाह आवश्यक नपर्ने भए पनि दीर्घरोगी, गर्भवती, उच्च जोखिम समूहका व्यक्तिमा फ्लुले गम्भीर समस्या निम्त्याउन सक्छ। त्यसैले यस्तो समूहका व्यक्तिलाई चिकित्सकको निगरानीमा राखिनु आवश्यक छ।
फ्लु कसरी सर्छ?
फ्लु भएका व्यक्तिले बोल्दा, खोक्दा वा हाच्छिउँ गर्दा निस्किने साना छिटामार्फत भाइरस नजिकका व्यक्तिमा सर्न सक्छ। भाइरस लागेको सतह छोएर त्यसपछि नाक वा मुख छोँदा पनि संक्रमण हुन सक्छ।
मुख्य लक्षण
ज्वरो, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने, नाक बन्द हुने वा सिँगान बग्ने, जिउ तथा मांसपेशी दुख्ने र अत्यधिक थकान महसुस हुनु फ्लुको सामान्य लक्षणका रूपमा देखिन्छन्।
रोकथामका उपाय
– विरामी व्यक्तिसँग दूरी कायम गर्ने
– खोक्दा वा हाच्छिउँ गर्दा नाक–मुख छोप्ने
– पर्याप्त तरल पदार्थ तथा पौष्टिक भोजन ग्रहण गर्ने
– शारीरिक गतिविधि बढाउने
– बिरामी भएका बेला घरमै बस्ने
– साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने
– आँखा, नाक र मुख अनावश्यक रूपमा नछुने
मन्त्रालयले संक्रमण बढ्न सक्ने यी दिनहरूमा विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।