काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले देशभर मानसिक स्वास्थ्यको जोखिम बढ्दो देखिएको भन्दै यसको रोकथामका लागि मनोपरामर्शसँगै योग–ध्यानजस्ता आध्यात्मिक जीवनशैली अपनाउनुपर्नेमा जोड दिए।
तरङ्गीनि फाउण्डेशनद्वारा राजधानीमा सुरु भएको दुई दिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’लाई सम्वोधन गर्दै मन्त्री गौतमले वर्षेनि करीव सात हजार नेपालीले आत्महत्या गर्ने तथ्याङ्कले गम्भीर अवस्थाको संकेत गरेको बताए। तनाव, एक्लोपन र भावना व्यक्त गर्ने वातावरण नहुँदा आत्मविश्वास घट्दै जाने र गलत निर्णयको जोखिम बढ्ने भन्दै उनले सरकार, समुदाय र परिवार सबैले साथ दिनुपर्ने आवश्यकता औँल्याए।
उनले मानसिक स्वास्थ्यलाई प्राथमिकता दिँदै मनोपरामर्श सहायता कक्ष स्थापना, ‘टेलिभेडिसिन’मार्फत विदेशमा रहेका नेपाली श्रमिकलाई परामर्श सेवा उपलब्ध गराउने तथा नीतिगत सुधारका काम अघि बढाइरहेको जानकारी दिए।
कार्यक्रममा विज्ञ मनोचिकित्सक र मनोपरामर्शदाताहरूले सामुदायिक मानसिक स्वास्थ्यका चुनौती र समाधानबारे धारणा राखेका छन्। सम्मेलन दुई दिनसम्म चल्नेछ।