काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुई पटक सूचना जारी गरिँदा पनि एकजनाले समेत दरखास्त नदिएपछि सरकार कठिनाइमा परेको छ। कात्तिक १६–३० र थप मंसिर ५ सम्म आवेदन मागिँदा पनि कुनै निवेदन नपरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले अन्ततः फेसबुकमै विज्ञप्ति राखेर योग्य चिकित्सकलाई आवेदन दिन आग्रह गरेका छन्।
सिफारिस समितिका संयोजक प्रा।डा। जयराज अवस्थीका अनुसार ऐनमा तोकिएको कडा योग्यता—पीएचडी वा डिएमरएमसीएच, ६१ वर्ष ननाघेको र १० वर्ष प्राध्यापक अनुभव—मुख्य बाधक बनेको छ। यस्तो योग्यता भएका चिकित्सक संख्या कम हुनुका साथै काठमाडौँमा महिनाको ७–१२ लाखसम्म कमाइ रहेका चिकित्सकले गेटास्थित विश्वविद्यालयमा ९० हजार–१ लाख तलबका कारण रुचि नदेखाएको समितिको मूल्यांकन छ।
उचित उम्मेदवार नपाएपछि समितिले न्याम्स, त्रिवि शिक्षण अस्पताललगायत स्थानमै पुगेर खोजी गर्दा पनि नतिजा नआएको बताइएको छ। अवस्थीका अनुसार उपकुलपति नियुक्ति सम्भव बनाउन ऐन संशोधन आवश्यक छ, जसका लागि अध्यादेशमार्फत सुधार गर्न सकिने सुझाव समितिले मन्त्रीलाई दिएको छ।
यता, विश्वविद्यालयको रजिस्ट्रारका लागि भने १० जनाको आवेदन स्वीकृत भइसकेको छ र आगामी साता अन्तर्वार्ता हुने तयारी छ।
२०८२ असार ४ मा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन कार्यान्वयनमा आए पनि उपकुलपति नियुक्ति भने अझै अल्झिएको छ।