वीरगञ्ज (पर्सा) । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नेपालले आँखा उपचार सेवामा हासिल गरेको प्रगति सबैका लागि गौरवको विषय रहेको बताएका छन्। वीरगञ्ज दृष्टि आँखा, नाक, कान तथा घाँटी अस्पतालको नवनिर्मित भवन उद्घाटन गर्दै उनले नेपालका आँखा उपचार सेवाले भारतका उत्तरी राज्यहरूभन्दा समेत उत्कृष्ट सेवा दिइरहेको उल्लेख गरे।
उनले भने, “पञ्चायतपछि सुरु भएको आँखा उपचारको क्रान्तिले आज नेपाललाई क्षेत्रीय हब बनाएको छ। विहार, युपी, बङ्गालबाट समेत बिरामी उपचारका लागि नेपाल आउने तथ्यले हाम्रो क्षमता प्रमाणित गर्छ।”
पूर्वराष्ट्रपति यादवले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको भूमिका देशकै प्रतिष्ठासँग जोडिएको भन्दै सेवा गुणस्तर निरन्तर सुधार गर्न आग्रह गरे। उनका अनुसार चिकित्सा केवल आम्दानीको पेसा नभई “गहिरो मानवीय सेवा भावना” ले चलाउनुपर्ने पवित्र व्यवसाय हो।
अस्पतालका कार्यकारी निर्देशक भाइ राजा श्रेष्ठले नयाँ अत्याधुनिक भवनसँगै सेवा अझ विस्तार भएको जानकारी दिए। उनका अनुसार विगत १० वर्षमा अस्पतालमा १३ लाखभन्दा बढी बिरामीको उपचार भइसकेको छ भने एक लाखभन्दा बढी नेत्र शल्यक्रिया सम्पन्न गरिएको छ।
मेडिकल निर्देशक डा। हरि शर्माले आर्थिक अभावका कारण कसैको जीवन अन्धकारमा नपरोस् भन्ने उद्देश्यले अस्पताल सञ्चालन हुँदै आएको बताए। कार्यक्रममा आँखा विशेषज्ञ डा। राधाकृष्ण कोइराला र वीरसिंह थापालाई सम्मान गरिएको थियो।
अध्यक्ष विश्वराज गौतमका अनुसार अस्पताल अबसमेत आधुनिक उपकरण र अनुभवी जनशक्ति समेटेर बिरामीमैत्री सेवा विस्तार गर्ने योजनामा अघि बढ्नेछ।